नियम १३४
अशक्त वृत्ति
: (१) कुनै प्रहरी कर्मचारी आफनो पदको कर्तव्य पालन गर्दा वा तालीमको सिलसिलामा दुर्घटनामा परी वा आघातमा परी अङ्गभङ्ग भई वा चोटपटक लागि शारीरिक वा मानसिक रुपमा प्रहरी सेवामा बहाल रहन अशक्त भएमा त्यस्तो प्रहरी कर्मचारीले निजको जीविकाको निमित्त बाँचुन्जेलसम्म अशक्तवृत्तिको रुपमा उपनियम (२) मा लेखिए बमोजिम निवृत्तिभरण सहित उपनियम (३) मा लेखिए बमोजिमको अशक्त भत्ता पाउनेछ ।
स्पष्टीकरण : यस उपनियमको प्रयोजका लागि मानसिक रुपमा अशक्त भन्नाले नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डबाट मानसिक रुपमा अशक्त भई प्रहरी सेवामा काम काज गर्न असक्षम भनी सिफारिस गरेको व्यक्ति सम्झनु पर्छ ।
(२) उपनियम (१) बमोजिम अशक्त भएको प्रहरी कर्मचारीको सेवा अवधि निवृत्तिभरण पाउने अवधि पुगेको भए निजले तत्काल खाईपाई आएको (कायम मुकायम, कार्यवाहक वा निमित्त भई काम गरेको भए सो को समेत) तलबले नियम १३१ को उपनियम (२) बमोजिम हिसाब गरी हुन आउने रकम बराबर अशक्त निवृत्तिभरण पाउनेछ । त्यस्तो अशक्त प्रहरी कर्मचारीको सेवा अवधि निवृत्तिभरण पाउने
अवधिभन्दा घटी भएमा यस नियमावली बमोजिम निवृत्तिभरण पाउने वर्ष पु¥याउन नपुग प्रत्येक पूरा वा चानचुन वर्षको निमित्त दामासाहीबाट कट्टी गरी बाँकी हुन आउने रकम निवृत्तिभरण वापत पाउनेछ । यसरी कट्टी गर्दा एक तिहाईभन्दा वढी रकम कट्टी गरिने छैन ।
(३) प्रहरी कर्मचारीले अशक्तता बापत उपनियम (२) बमोजिम पाउने अशक्त निवृत्तिभरणको अतिरिक्त थप पाउने मासिक अशक्त भत्ताको रकम निजले खाईपाई आएको तलबको बीस प्रतिशत बराबर हुनेछ । साथै नियम १३८ को स्पष्टीकरण खण्डको देहाय (क) मा लखिए बमोजिमको अशक्त प्रहरी कर्मचारीको हकमा निजको जीवनभर निजले खाइपाई आएको अशक्त भत्ताको बीस प्रतिशत रकम कुरुवा खर्चको रुपमा थप सुविधा समेत दिईने छ । तर अशक्तवृत्ति पाएका वा पाउने ठहरिएका प्रहरी कर्मचारीले पछि कुनै सेवामा पुन प्रवेश
पाएमा निजले यस नियम बमोजिमको अशक्तवृत्ति पाउने छैन र खाईसकेको अशक्तवृत्ति रकम भने फिर्ता गर्नु पर्ने छैन ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारी हतियारधारी समूहको कारवाही वा कुनै प्रकारको सशस्त्र मुठभेड वा आक्रमण, बिस्फोटन वा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारवाहीमा खटिएका बखत कुनै आकस्मिक दुर्घटनामा परी वा लडी वा कुनै प्रकारको हतियारको चोटबाट प्रहरी सेवाको निमित्त काम गर्न अशक्त भएमा त्यस्तो प्रहरी कर्मचारीलाई एक तह पदोन्नति गरी सेवाबाट अवकाश दिईनेछ र निजले उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढीमा सात वर्षसम्म खाईपाई आएको पूरा तलब पाउनेछ । त्यसरी पूरा तलब पाउने अवधि व्यतित भए पछि निवृत्तिभरण पाउने अवधि भन्दा कम सेवा अवधि भएको प्रहरी कर्मचारीले निवृत्तिभरण पाएको अवधिसरह र निवृत्तिभरण पाउने अवधिभन्दा बढी सेवा अवधि भएको प्रहरी कर्मचारीले सोही बमोजिम निवृत्तिभरण पाउनेछ ।
(५) उपनियम (१) वा (४) बमोजिम चोटपटक लाग्न गई उपचार गराउँदा लाग्ने खर्चको पूरा रकम सम्बन्धित प्रहरी कर्मचारीले पाउनेछ र यस्तो उपचार खर्च दिँदा नियम १४१ को उपनियम (१) बमोजिम पाउने उपचार खर्चमा कट्टा गरिने छैन ।
(६) उपनियम (४) बमोजिम सुविधा पाएको अवधिमा समान पदको बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा तलबको सुरु अङ्कमा जति रकम वृद्धि भएको छ सोही बरावरको रकम अवकाश प्राप्त प्रहरी कर्मचारीले पाउने तलब रकममा समेत वृद्धि हुनेछ ।
(७) उपनियम (१), (२), (३) र (४) बमोजिम सुविधा पाएको अवकाश प्राप्त प्रहरी कर्मचारीको मुत्यु भएमा त्यस्तो सुविधा पाएको सात वर्ष नपुगे सम्म निजको परिवारले निजले पाए सरह नै सम्पूर्ण सुविधा पाउनेछ र सात वर्ष पुगे पछि नियम १३५ को उपनियम (१) र (२) बमोजिम निवृत्तिभरण पाउनेछ ।
(८) बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा समान स्तरको प्रहरी कर्मचारीको तलबको सुरु अङ्कको रकममा जति प्रतिशत वृद्धि भएको छ सोही प्रतिशतले उपनियम (३) बमोजिमको अशक्त वृत्तिको रकममा समेत वृद्धि हुनेछ ।
(९) अशक्तवृत्ति प्रदान गर्ने प्रयोजनको लागि मन्त्रालयले अशक्तताको प्रमाणपत्र प्रदान गर्नेछ ।